हेटौंडा : मकवानपुर जिल्लामा जन्मिएर आफ्नो जीवनकालभर आधारभूत जनताको पक्षमा लेख, रचना सृजना गरेका श्यामप्रसाद शर्माको विचार र सृजना फैलाउने प्रयासहरु भइरहेका छन् ।

सोही प्रयासस्वरुप मकवानपुरमा ‘श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान’ गठन भएको छ भने हालै काठमाडौंमा “श्यामप्रसाद विचार प्रतिष्ठान” पनि गठन भएको छ । यस प्रतिष्ठानले गर्ने काम र श्यामप्रसादका विचारको सान्दर्भिकताबारे ‘श्यामप्रसाद विचार प्रतिष्ठान’का सदस्य तथा पूर्व सांसद् राधा तिमल्सिनासँग गरिएको कुराकानीको सम्पादित अंश ।  

१) तपाईं श्यामप्रसाद विचार प्रतिष्ठानमा आबद्ध हुनुहुँदो रहेछ । उहाँको विचारप्रति तपाईंको लगाव हुनुको कारण के हो ? 

मुख्यतः केही कुरा आफूलाई मन परेपछि नै त्यसमा लगाव हुने हो । त्यसरी नै उहाँको विचार सही लागेर नै यसप्रति मेरो लगाव भएको हो । उहाँको विचार सही लागेको भएर नै हामीले श्यामप्रसाद विचार प्रतिष्ठान गठन गरेका छौं । उहाँ शोषित पीडित जनताको पक्षमा आफू बाँचुन्जेल सम्म निष्ठापूर्वक लाग्नुभयो । साम्यवादी विचारप्रति प्रतिबद्ध भएर उहाँले आफ्नो जिवनभरी समर्पणको भावसहित लाग्नुभयो । उहाँ नाम र दामको पछाडी लाग्नुभएन । अहिले पनि शोषित जनताको अवस्था उही छ । त्यही भावना मन परेकोले उहाँको विचारप्रति लगाव रहन पुग्यो । 

२) वर्तमान नेपालको अवस्थामा श्याप्रसादको विचारको सान्दर्भिकताबारे केही प्रकाश पार्नुहुन्छ कि ?

वर्तमान अवस्थामा उहाँको विचार झनै सान्दर्भिक छ । हामीले मान्ने– नमान्ने, वर्तमान सरकारले उहाँको विचार ग्रहण गर्ने– नगर्ने आफ्नो ठाउँमा छ । बिथितीहरुले भरिएको वर्तमान अवस्थामा उहाँको विचार अझ बढी सान्दर्भिक छ भन्ने लाग्छ । उहाँको लेख्ने, बोल्ने शैली पनि नेपाली सामान्य जनताको अवस्था सुहाँउदो छ ।

३) प्रतिष्ठानमार्फत गर्नुपर्ने वा गर्न सकिने कामहरु के– के हुन सक्छन् ? यसमा तपाईंको प्रतिबद्धता कस्तो रहने छ ?

प्रतिष्ठानमार्फत गर्नुपर्ने कामहरु त धेरै छन् । तिमध्ये हामीले गर्न सकिने कामहरु म यहाँ राख्न चाहन्छु । उहाँसँग संगत भएका, उहाँको भूमिगत कालमा सहयोग गरेका र लामो समय बिताई बृद्ध भइसकेर पनि आफूलाई बाहिर ल्याउन नसकेका व्यक्तिहरु हुनुहुन्छ । जो अझैसम्म पनि छायाँमा हुनुहुन्छ । उहाँहरुलाई सम्मान गर्ने एउटा काम प्रतिष्ठानको हुनेछ । बोलेर, लेखेर व्यक्त भएका विचार र उहाँका कृतिहरु खोज्ने प्रतिष्ठानको अर्को काम हुनेछ भने त्यसलाई प्रकाशन गर्ने काम पनि प्रतिष्ठान मार्फत हुनेछ । उहाँका उपयोगी लेख रचनाहरुलाई विद्यालय तहका नैतिक शिक्षाको पाठ्यक्रममा पार्नुपर्छ भनेर शिक्षा मन्त्रालयमार्फत पहल गर्ने योजनामा हामी छौं । हामी यसैमा निरन्तर लागिपर्ने छौं ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here