प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना नेता विजयकुमार गच्छदारविरुद्ध सरकारको प्रभावमा आएर अख्तियारले मुद्दा चलाएको आरोप लगाउँदै बिहीबार संसद् बैठक अवरुद्ध गरेकाे छ ।

बैठक सुरु हुनासाथ नेत्री पुष्पा भुसालले गच्छदारसहित केही उच्चपदस्थ  व्यक्तिलाई अख्तियारले प्रतिशोधका आधारमा मुद्दा चलाएकाे भन्दै संसद् अवराेध गर्ने जनाएकी थिइन् । कांग्रेस सांसदहरू उठेर उनको आग्रहलाई समर्थन गरेका थिए । अवराेध नगर्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरू पछि नहटेपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसाे  १ बजेसम्मका लागि बैठक स्थगित भएकाे घाेषणा गरेका छन् ।

नेत्री भुसालले सरकारको प्रभावमा अख्तियारले कसैलाई काखा र कसैलाई पाखा लगाएर कारबाही चलाएको बताइन् । अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री गच्छदारसहित पूर्वप्रशासक र कर्मचारीसमेत १ सय ७५ जनालाई बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पूर्वप्रधानमन्त्रीहरू, मुख्य सचिवहरू र नेकपाका महासचिवलाई सफाइ दिएर कांग्रेसका गच्छदारलाई प्रतिशोधका आधारमा मुद्दा चलाइएको भुसालले आरोप लगाइन् । करिब १५ मिनेट बोलेकी उनले गच्छदार सक्रिय शाहीकालमा लडेका व्यक्ति रहेकाे बताइन् । गच्छदारले अहिलेसम्म चुनाव नहारेकाे र जनताले विश्वास गरेको व्यक्तिलाई आस्था नमिलेकै कारण भ्रष्टाचारको मुद्दा लगाइएकाे उनकाे भनाइ थियाे ।

यही विषयमा नेपाली कांग्रेसले पनि आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here