काठमाडौ । साउदी सरकारले स्थगनमा राखेका विभिन्न सेवाहरु अनिश्चित अवधिसम्मका लागि स्थगनमा नै राख्ने निर्णय गरेको छ । साउदी अरवस्थित नेपाली राजदूतावासले आइतबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । दूतावासले साउदीमा कोरोना संक्रमणबारे साउदी अधिकारीहरुले जारी गरेको तथ्यांकलाई उद्धृत गर्दै साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२९९ पुगेको , आइतबार थप ९६ जनामा यसकाे संक्रमण भएको , राजधानी रियादमा मात्र आइतबार २७ जनामा नयाँ संक्रमण देखिएको , कुल संक्रमितहरुमध्ये हालसम्म ६६ जना निको भएका र ८ जनाको संक्रमणबाट निधन भएको जनाएको छ । साउदीमा आजसम्म नेपालीहरु सुरक्षित रहेको पनि दूतावासले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले साउदी सरकारले दुई हप्ता अगाडिदेखि स्थगन गरेका सरकारले तोके बाहेकका सबै सरकारी कार्यालयहरु, निजीक्षेत्रका कार्यालयहरु , साउदी अरब आउने सम्पूर्ण यात्रुबाहक अन्तर्राष्ट्रिय हवाइसेवाहरु , सम्पूर्ण आन्तरिक हवाई यात्रु उडान सेवा, बस, रेल तथा ट्याक्सी सेवासेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको उल्लेख गर्दै दूताबासले यसका अतिरिक्त साउदी सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरेको कर्फ्यू, केही क्षेत्रहरुको लकडाउन तथा आवागमन नियन्त्रण लगायतका सबै निर्देशन, प्रावधान तथा गाइडलाइनहरु यथावत् कार्यन्वयनमा रहेको समेत स्पष्ट पारेको छ ।
साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य रुपमा पालना गर्न अनुरोध गरिएको दूकावासका श्रम काउन्सिलर दिवन राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here