मो.मजिबुल्लाह रौतहट
तब्लिगी जमातसमेत कुनै पनि मुस्लिम नागरिकले कोरोना भाइरस फैलाउने काम गरिरहेको देखिंदैन । सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएको घृणित क्रियाकलापले देशलाई असाध्यै माया गर्ने मुस्लिम समुदायको पहिचान र प्रतिष्ठामा आँच पुर्याएको छ ।’
कोरोना भाइरस संक्रमित नागरिकको संख्या बढ्दै गएको बिपदको घडीमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई प्रतिकुल असर पर्ने गरी लगातार प्रोपेगेण्डा भइरहेको सन्दर्भमा मुस्लिम आयोगले उक्त सूचना नियन्त्रणका लागि आवश्यक कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले गृह मन्त्रालयलाई आज बुझाएको लिखित पत्रमा मुस्लिम आयोग, मुस्लिम संघ–संस्था, नेता र बुद्धिजिवीहरु समुदायलाई सचेत गर्ने कार्यमा नियमित रुपमा सक्रिय भएर लागेको र प्रशासनलाईसमेत सहयोग पु¥याइरहेको सन्दर्भ दिंदै समुदायलाई नै बदनाम गर्ने र सामाजिक सद्भाव बिथोल्ने गरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा भडकाउ सूचनाहरु सम्प्रेण भएको उल्लेख गरिएको छ ।
‘तब्लीग जमातीहरु पनि लगभग प्रशासनको सम्पर्कमा आइसकेका छन् ।’ आयोगको पत्रमा भनिएको छ, ‘‘उनीहरु नियमित सेड्युलमा विभिन्न मस्जिदहरुमा रहेको बेला लकडाउन घोषणा भएपछि तिनै मस्जिदहरुमा अलपत्र परेका हुन् । सवैको स्वास्थ्य परीक्षण भइरहेको छ । उनीहरुलाई क्वाइरेण्टाइनमा राख्ने काम पनि भएको छ ।’
विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई प्रतिकुल असर पर्ने गरी लगातार प्रोपेगण्डा भइरहेको बेला आयोगले भनेको छ, ‘तब्लीग जमातसमेत कुनै पनि मुस्लिम नागरिकले कोरोना भाइरस फैलाउने काम गरिरहेको देखिंदैन ।’
सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएको अनर्गल, मिथ्या र तथ्यहीन प्रचारबाजीलाई औंल्याउँदै आयोगले यस्तो घृणित क्रियाकलापले देशलाई असाध्यै माया गर्ने मुस्लिम समुदायको पहिचान र प्रतिष्ठामा आँच पुरयाएको जिकिर गरेको छ ।
प्रोपेगण्डाले मुस्लिम समुदायको बारेमा अन्य समुदायमा घृणा उत्पन्न गराएको गम्भीर विषयलाई पनि उल्लेख गर्दै आयोगका सचिव शम्भुुबहादुुर खडकाद्वारा हस्ताक्षरित पत्रमा कतिपय बस्तीहरुमा गैर मुस्लिमले मुस्लिम समुदायका मानिस प्रवेश नगरुन् भनेर ढाट लाएका समेत सूचनाहरु प्राप्त भएका छन् । यसले सामाजिक सद्भावमाथि दूरगामी प्रतिकुल असर पार्न सक्ने उल्लेख गरिएको छ ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेको गलत सूचना सम्प्रेषणको विषयमा आयोगले थप अध्ययन गर्ने मुस्लिम आयोगका अध्यक्ष समीम मियाँले बताएका छन् ।