एकजना पहाडे मूलका मुस्लिम नेताले मलाई फेसबुक च्याटमा लेख्नुभयो, ‘‘तपाईं त पहाडे मुस्लिमको बिरोधी रे नि त’ दिक्क मान्दै छोटो उत्तर दिएँ, ‘‘हो, सुन्नुभयो होला । मेरो बारेमा बोल्नेहरुको संख्या कम छैन ।यस्ता कैयौं कुराहरु मेरो पछाडिमा चलिरहन्छन्, कसैले मलाई मान्छे न भेटेर मन्त्री बनाइएको पनि भनेका छन्, कसैले जनाधार नभएको मान्छे पनि भनेका छन्, कसैले राजनीतिक खेलाडी पनि भनेका छन्, कोही कोहीले बौद्धिक पनि भन्छन्, कोही कोहीले मुस्लिम मुद्दाको ब्याख्याकार पनि भन्छन्, कोही कोहीले मुस्लिम आन्दोलनका अभियन्ता पनि भन्दछन् । हो, मेरो कानमा यी कुराहरु टकराइरहन्छन् ।मैले कसैलाई जवाब दिइरहन आवश्यक ठानेको पनि छैन । न म उचालिन्छु, न म खुशीले मात्तिन्छु । किनकि म जे हुँ, त्यही हुँ ।’ मैले माथिको पृष्ठभूमि उद्धृत गर्नुको कारण म पनि आज मधेशी र पहाडी मुसलमानको विवादाष्पद विषयलाई नै कोट्याउने मन गरें । हज समितिका अध्यक्ष शमशेर मियाँले एक टेलिभिजन इन्टर्भ्यूमा पहाडीया मुसलमान र मधेशी मुसलमानबीचको अन्तरद्वन्द्वको मनोवैज्ञानिक पक्षको कुरा उठाउँदा उहाँ मुस्लिम वृत्तमा निकै आलोचित भई टिकाटिप्पणीको शिकार हुनुभयो । उहाँले बिरोध खप्न नसकेर माफी माग्दै सामाजिक सञ्जालमा आउनुभयो । म भएको भए पद छोडिदिन्थें तर माफी चाहिँ माग्ने थिइन । किनभने शमशेर मियाँले बोलेको विषय न नौलो थियो न गलत नै ।त्यो विषय बोल्ने शमशेर मियाँ पहिलो व्यक्ति हुँदै होइन । मधेश र पहाडका शमशेर मियाँभन्दा सिनियर धेरैजनाले त्यस प्रकृतिका कैयौं अभिव्यक्ति पहिले नै दिएका छन् । मधेश र पहाडका मुसलमानलाई लडाएका छन् । मधेशी मुसलमानलाई मधेशका आम जनतासँग लडाएका छन् ।पृथक मनोविज्ञान :यो यथार्थ हो कि मधेशी र पहाडी मुसलमानको मनोविज्ञानमा भिन्नता छ । एउटै धार्मिक समुदाय र राज्यस्तरमा अल्पसंख्यक समुदाय भएको हुनाले धेरै समानताहरु छन् तर भौगोलिक भिन्नताले दुवैको मनोविज्ञानमा ठूलो अन्तर छ । सामान्यतः मधेशी मुसलमानले पहाडी मुसलमानलाई पृथक ठान्दछन् भने पहाडी मुसलमानले मधेशी मुसलमानलाई पृथक ठान्दछन् । केही विभेदका कुराहरु पनि दुवैको बीचमा बिद्यमान छन् । एकअर्कालाई स्वभाविक रुपमा स्वीकार गर्ने अबस्थाहरु पनि छन् । भौगोलिक प्रतिस्पर्धाको पनि माहौल छ । पहाडी मूलका नजीर मियाँ, सफिक मियाँ, हसिना मियाँ २०६४ सालमा सभासद् हुँदा खेरी मधेशी मुस्लिम नेताहरुले आपसी गफसफमा तिनको उदाहरण दिएर बिरोधका स्वरहरु घन्काउने गर्थे । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको स्थापना हुँदा पहाडे मूलका अब्दुल सत्तारलाई त्यसको संयोजक बन्न धेरैजना मधेशी मूलका मुस्लिम अगुवाहरुले भाजो हालेको साक्षी हुँ म । त्यसरी नै मधेशी मूलका मौलाना खालिद सिद्दिकीको नाममा अडचन खडा गर्ने पहाडी मुसलमानहरुको नाम याद छ मलाई अझै पनि । मुस्लिम गठबन्धनको राजनीतिक अबधारणापत्र बनिरहँदा राज्यपुनर्संरचनाको विषय महत्वपूर्ण थियो । हामीले मुद्दाहरुको निर्क्यौल गरिरहँदा ‘‘मधेश’ शब्दमा निकै आन्तरिक कहल उत्पन्न भयो ।‘‘मधेश’ शब्दलाई स्वीकार नगर्ने केही अभिधूतवादी सोचका पहाडे मूलका मुस्लिम नेताहरुले निकै बाधा मात्र पुर्याएनन्, उनीहरुको पटक पटक भिन्दै कोठे बैठक भयो । तत्कालीन केही सभासद् र लगभग लगभग सवै पहाडे मुस्लिम नेताहरु ती काठे बैठकहरुमा समावेश भए । हाम्रो पहिचान ‘‘मधेशी’ हो भन्ने सोचका केही मधेशी मुस्लिम नेताहरुको पनि भिन्दै नियमिति बैठकहरु भए । तर, दुवैलाई समेटेर लैजानेहरुको एउटा समूह पनि थियो त्यहाँ जसको अन्ततः जीत भयो र हामीले मुस्लिम समुदायको पृथक पहिचानको मुद्दालाई मूल एजेण्डाको रुपमा लैजान सक्यौं । गठबन्धनको आन्दोलन अबधिभर यो विषयमा मुस्लिम नेताहरुबीच रस्साकसी भइरह्यो । मध्यमार्गीहरुको पहलले आन्दोलनले जीवन्त रुप लियो । हो, त्यस मध्यमार्गीहरुमध्ये एउटा म पनि थिएँ जसले वैचारिक विषयको निरन्तर ब्याख्या विश्लेषण र दस्तावेजीकरण गरिरहेको थियो, सांगठनिक विषयमा सक्रियतापूर्वक लागेको थियो । पछि म संविधानसभा सदस्य पनि भएँ । त्यहाँको माहौल र राजनीतिक शब्दजालको अध्ययन गरेपछि मैले मूल एजेण्डामा फेरि संशोधन गरें । पहिले स्थापित ‘‘‘मुस्लिम समुदायको पृथक पहिचान’लाई ‘‘‘मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान’ को रुपमा परिमार्जित गर्न ब्याख्या गरें । र, यसलाई गठबन्धनको मूल एजेण्डाको रुपमा अगाडि सारियो । यसमा पहाडे समुदायका मुस्लिम नेताहरुको ठूलो समर्थन मिल्यो भने मधेशी पहिचानमा बिलयन हुन चाहने मधेशी मुस्लिम नेताहरुको बिरोधको उत्तिकै मजबुत ढंगले सामना गर्नु पर्यो । बिरोधबीच नै हाम्रो आन्दोलन भइरह्यो । त्यस राजनीतिक एजेण्डामा एकथिरका नेताहरुको समर्थनको कारण स्वार्थबाहेक केही थिएन र अर्का थरिका नेताहरुको बिरोधको कारण उनीहरुको पार्टीप्रतिको लगावको स्वार्थबाहेक अरु केही थिएन ।माथिको पृष्ठभूमिलाई यहाँ जोड्न चाहन्छु । मसित च्याटमा आफ्नै विचार राख्दा पनि अरुले यस्तो भने भन्ने पहाडे समुदायको त्यस मुस्लिम नेतालार्ई प्रष्ट्याउन चाहन्छु– कसैको बारेमा विचार बनाउनुभन्दा पहिले त्यसको बारेमा तहकीकात गर्नुस् । यदि मलगायत २–४ जना मात्र मधेशी मूलका मुस्लिम नेताहरु अन्य मधेशी नेताहरुको धारमा उभिएको भए आजको संबिधानमा मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान स्थापित हुने थिएन । ऊ आज मधेशी पहिचानमै बिलयन भएर जान्थ्यो । यसको मारमा सदाको लागि कोही पर्थ्यो भने त्यो पहाडका तीन प्रतिसत मुसलमान नै पर्थ्यो । यसले मधेशी मुसलमानलाई पनि सदाको लागि अन्धकारमा धकेलिदिने थियो । हो, यो थियो हाम्रो दुरदर्शी सोच र सजगता । पहाडी मुसलमानहरुको हुनेवाला हबिगतबाट बचाउन पहाडी मुसलमान लागिपर्नु स्वभाविक थियो । तर, त्योभन्दा कैयौं गुना बढी मेहनतका साथ लागिपरेको समुदाय भने मधेशी मुसलमान नै थियो ।तीन महत्वपूर्ण प्रवृत्ति : पहिलो : मधेशीया अहंकारवादी प्रवृत्ति : यस प्रवृत्तिका मुसमलानहरुको बसोवास तराई मधेशमा रहेको छ ।यस प्रवृत्तिका मानिसहरु मूलतः मधेश केन्द्रित दलमा लागेका छन् वा तिनको समर्थन गर्दछन् । उनीहरु पहाडीया मुसलमानलाई रुचाउँदैनन् । उनीहरुले पहाडीया मुसमलानले आफ्नो राजनीतिक भाग खाएको महसुस गर्दछन् । यस प्रवृत्तिका मुसमलानहरुले पहाडी मुसमलानहरुलाई आफूले प्राप्त गर्ने अधिकारको हिस्सेदार ठान्दैनन् । उनीहरु पहाडी मुसलमानलाई अलग्याएर राख्न चाहन्छन् । उनीहरुले पहाडीया मुसलमानलाई बाहुनवादी नेताहरुको पछुवाको रुपमा ब्याख्या गर्दछन् ।संविधानसभाको समयमा यस प्रवृत्तिका मुस्लिम नेताहरु मुस्लिम समुदायको भिन्दै पहिचान हुनुपर्छ भन्ने कुराको बिरोध गरिरहेका थिए । उनीहरुले आफू मधेशी भएकोले मधेशकै पृथक पहिचानभित्र समावेशी अधिकार पाउने कुरा गरिरहेको थिए । उनीहरुले समावेशी कानूनमार्फत् मधेशभित्रको उप पहिचान स्थापित गरेर मधेशभित्र वितरण हुने अधिकारमा समावेशी हकको कुरा उठाइरहेका थिए । उनीहरुले मुस्लिम समुदायको धार्मिक अधिकारको कुरा मात्र गर्दथे । राज्यपुनर्संरचनामा मुस्लिम समुदायको अलग हैसियतको कुरा उनीहरुले गर्न मानेका थिएनन् । यस प्रवृत्तिका मुसमलानहरु मधेश केन्द्रित दलका नेताहरुलाई खुशी पार्ने काममा लीन थिए । उनीहरु मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचानको विषयमा प्रष्ट थिएनन् । यथार्थमा उनीहरु राज्यपुनर्सरचनाको विषयलाई गम्भीर रुपमा बुझेका नै थिएनन् । यस प्रवृत्तिका मुसमलानहरुलाई मधेश केन्द्रित दलहरुले काँखी च्यापेका थिए । उनीहरुलाई रिझाउन, मुस्लि भोट बैंकको रुपमा प्रयोग गर्न विभिन्न पदहरुमा राखेका थिए । आम मुस्लिम समुदायलाई रिझाउन कम प्रभावकारी उपाध्यक्ष जस्ता पदहरुमा मधेश केन्द्रित दलहरुले उनीहरुलाई नियुक्ति दिने गरेका थिए । पहिलो प्रवृत्तिका मुसमलानहरु रत्न मल्लको पालामा मुसलमान नेपालमा आएको स्वीकार गर्दैनन् । उनीहरु त्यसअघिदेखि नै मधेशमा मुसलमानहरुको बसोवास रहेको तर्क प्रस्तुत गर्दछन् ।दोस्रो : पहाडीया अहंकारवादी प्रवृत्ति :यस प्रवृत्तिका मुसमलानहरुको बसोवास पहाडमा छ । यस सोचका मुसलमानहरुको जनसंख्या निकै न्युन छ । यस्ता सोचका मुसलमानहरुमा खोक्रो राष्ट्रवाद बढी भेटिन्छन् । यिनीहरुले ऐतिहासिक पृष्ठभूमिमा आफूमाथि विभेद भएको कुरालाई खासै स्वीकार गर्दैनन् । उनीहरुको धार्मिक अभ्यास, भाषा, संस्कृति, रहनसहन, उत्पादन सम्बन्ध प्रतिकुल रुपमा प्रभावित हुँदै गएर कसरी उनीहरुको पहिचान र इतिहास गुम्दै गएको छ भन्ने कुराको हेक्का उनीहरुलाई खासै छैन । उनीहरुमाथि अन्य भाषा, संस्कृति, परम्परा, भेषभुषा लादिएर आएका हुन् भन्ने कुरा स्वीकार गर्न उनीहरु तयार छैनन् । मधेश शब्द उनीहरुले सुन्न मन पराउँदैनन् । मधेशवाद विरोधी अचेतन मनले उनीहरुको दिल र दिमागलाई चल्न दिएको छैन । यस प्रवृत्तिका मुसलमानहरु समावेशीताको कुरा गर्छन् तर समानुपातिक समावेशितालाई व्यवहारिक रुपमा स्वीकार गर्दैनन् । उनीहरु समावेशिताको कुरा गरिरहँदा क्षमतावादको पनि कुरा सँगसँगै उठाउँछन् ।यो यथार्थ हो कि मुस्लिम समुदायभित्र पहाडी मुस्लिमलाई समानुपातिक समावेशीकरणको सिद्धान्तको आधारमा प्रतिनिधित्व दिने हो भने उनीहरुले निकै कम अवसरहरुको सदुपयोग गर्न पाउने छन् । तर, क्षमताको आधारमा अवसरको कुरा गर्ने हो भने ९७ प्रतिसत जनसंख्या भएको मधेशी मुस्लिमका अधिकांश अवसर यिनले खान सक्ने अबस्था चाहिँ हो । त्यो भएर यस प्रवृत्तिका मुसलमानहरुको मनोवविज्ञान मधेशी मुसलमानको मनोविज्ञानभन्दा फरक छ । यस प्रवृत्तिका मुसलमानले राष्ट्रवादको कुरा बढी गर्दछन् । अन्य समुदायको भाषा, संस्कृति, रहनसहन, लवाइखवाइ, चाडपर्व र संस्कारमा बढी घुलमील हुन सक्दछन् । यस प्रवृत्तिका मुसमलानहरुलाई गैर मुस्लिम पहाडी मूलका नेताहरुले पनि अवसरहरुमा प्राथमिकिता दिन्छन् । यस प्रवृत्तिका मानिसहरु राज्यको पहुँचमा पहिलो प्रवृत्तिका मानिसहरुभन्दा बढी हुन्छन् । राजनीतिमा पनि उनीहरु छाएका हुन्छन् । उदाहरणका लागि दुई ठूला दल नेकपा र नेकामा यस प्रवृत्तिका मानिसहरुको सहभागिता निकै बढी छ । त्यस्तै दुवै ठूला पार्टीका भातृ संस्था नेपाल मुस्लिम संगठन र नेपाल मुस्लिम संघमा यस प्रवृत्तिका मुसलमानहरुको सहभागिता अत्यधिक छ । मुस्लिम मात्रको सन्दर्भमा उसको जनसंख्याको अनुपातभन्दा कैयौं गुना बढी संख्यामा उनीहरुको जबर्जस्त हस्तक्षेप कायम छ ।दोस्रो प्रवृत्तिका मुसमलानहरु रत्न मल्लको पालामा मुसलमान नेपालमा आएको भनेर आफूहरु पहिलो लटको रैथाने मुसलमान भएको दावी गर्दछन् । उनीहरु त्यसअघि नै मधेशमा मुसलमानहरुको बसोवास रहेको तर्कलाई पन्छाउन खोजिरहेका हुन्छन् । उनीरुको लेखबाट यो कुरा प्रष्ट हुन्छ । र, यस सोचलाई गैर मुस्लिम पहाडी मुस्लिम नेताहरुले उनीहरुलाई उत्साहित बनाएका हुन्छन् ।तेस्रो : मध्यमार्गी प्रवृत्ति : यस प्रवृत्तिका मुसलमानहरुको संख्या नेपालमा धेरै छ । यही मध्यमार्गी प्रवृत्तिले गर्दा मुस्लिम समुदायले संविधानमा पृथक राष्ट्रिय पहिचानको स्थापना गर्न सफल भएको हो । यस प्रवृत्तिका मुसलमानहरुले राष्ट्रिय मुक्तिको कुरा गर्दछन् । उनीहरु मुस्लिम समुदायको राष्ट्रिय एकतामा जोड दिन्छन् । साझा मुद्दामा एउटै प्लेटफर्मबाट काम गर्न चाहन्छन् । अधिकांश मुस्लिम समुदायमा बिद्यमान यो यस्तो मनोविज्ञान हो जसले नेपाली मुस्लिमलाई एउटा राष्ट्रिय समुदायको रुपमा हेर्दछ । यसले राज्यपुनर्संरचनामा मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचानको कुरा उठाउँदै पूर्ण समानुपातिक अधिकारको कुरा गर्यो । यसले मुस्लिम समुदायभित्र पनि अल्पसंख्यकको रुपमा रहेका मुस्लिमहरुलाई समुदायभित्रै पनि विशेषाधिकारको विषयलाई प्राथमिकतामा राख्दछ । त्यही भएर यस मध्यमार्गी प्रवृत्तिका मुसलमानहरुले मुस्लिम आयोगको अध्यक्षमा निर्दोष अली र शमीम मियाँ अन्सारीलाई पनि पचाउँछ र सभासद्मा नजीर मियाँ, हसिना मियाँ, सफिक मियाँ, अनारकली मियाँ, कलिला खातुन, समीना हुसेन, रिजवान अन्सारी, मोहम्मद इश्तियाक राई, मोहम्मद जाकिर हुसैन, वकील मुसलमान, अब्दुल हमीद सिद्दिकी, लालबाबु राउत, करिना बेगम र अतहर कमाल मुसलमानलाई पनि पचाउँछ । यसले हज समितिको अध्यक्षमा ताज मोहम्मद मियाँ, शमशेर मियाँ, मोहम्मद निजामुद्दीनलाई पचाउन सक्छ भने इजहार मिकरानी, शोऐब रजालाई पनि पचाउन सक्दछ ।यस प्रवृत्तिका मुसलमानहरु मधेश र पहाड दुवैतर्फ छन् । तथापि प्रतिसतको आधारमा पहाडी मुसलमानभित्रकै प्रतिसत निकाल्दा पनि यस प्रवृत्तिमा धेरैजना अटाउन गाह्रो नै छ । यस प्रवृत्तिका मुसलमान नेताहरुले राज्यपुनर्संरचनाको बहसमा धार्मिक स्वतन्त्रताको हकमा मुसलमानलाई सीमित राख्न चाहेनन् । उनीहरुले राज्यपुनर्संरचनाको विषयमा पनि मुसलमानलाई प्रवेश गराउन चाह्यो र मुसलमानलाई राष्ट्रिय समुदायको रुपमा प्रस्तुत गर्यो । यस प्रवृत्तिका मुसलमानहरुको बुझाइ र मेहनतले गर्दा संबिधानमा मुसलमानको पृथक राष्ट्रिय पहिचान कायम मात्र भएन विशेषाधिकारको रुपमा संवैधानिक मुस्लिम आयोग प्राप्त हुन सक्यो ।समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको वितरणमा पर्न मुस्लिम एक प्रमुख क्लष्टर बन्यो । यदि संविधानसभाको बहसको समयमा मुस्लिम समुदायलाई मधेशी दल, नेपाली काँग्रेस र एमालेले चाहे जस्तै धार्मिक समुदायको रुपमा मात्र व्याख्या हुन दिएको भए संविधानमा मुस्लिम एक प्रमुख क्लष्टरको रुपमा स्थापित हुने कुनै सम्भावना थिएन । हामीले मुस्लिम समुदायलाई दुईवटा पहिचानसँग जोडेर ब्याख्या गर्यौं– मुस्लिम धार्मिक समुदाय पनि हो र मुस्लिम अन्य समुदायजस्तै एक पृथक राष्ट्रिय पहिचान भएको जातीय समुदाय पनि हो । यसले बहुराष्ट्रियताको छलफलमा मुस्लिमलाई पनि एक राष्ट्रको रुपमा बहसमा प्रवेश गराउने माहौल बन्यो ।अन्ततः कम्तिमा मुस्लिमलाई एक राष्ट्रिय समुदायको रुपमा स्थापित हुने संवैधानिक अवसर प्राप्त भयो । यसमा माथि उल्लेखित दोश्रो प्रवृत्तिका मुसलमानहरुको पनि ठूलो सहयोग रह्यो भने पहिलो प्रवृत्तिका मुस्लिम नेताहरुले यसमा ठूलो बाधा पुर्याएर पनि उनीहरुको केही चलेन । उनीहरु संविधानसभालाई नै बहिष्कार गरेर बाहिरिए । तर, समितिहरुको बैठकमा भने उनीहरुले अन्तिम समयसम्म पनि भाजो हाल्ने काम गरेका थिए ।शमशेर मियाँको विषयमा : माथि नै भने मैले त्यो गलती गरेको भए पनि म माफी माग्ने थिइन । किनकि त्यो गलती मैले मात्र गरेको हुने थिइन । शमशेर मियाँको ठूलो बिरोध भयो । नेपाल हज समितिको अध्यक्ष पदबाट उहाँको राजीनामाको माग भयो । तर, म एउटा प्रश्नको जवाफ पाउन सकिरहेको छैन कि चर्काे रुपमा कुरा उठाउनेहरु सामान्य माफीपछि कसरी मत्थर भए < मैल यहाँ नाम नलिईकन लेख्दा पनि बुझ्नेहरुले बुझिरहेको होलान् ती व्यक्तिहरु जसले शमसेरको ‘श’सुन्न मन पराउँदैनन्, उनीहरु के कारणले अचानक चूप भए,  ती मान्छेहरु बिना कुनै दोषको शमसेर मियाँको चरित्र हत्या गर्न दिनहुँ लेख्थे, मिडियामा लेखाउँथे, भिडियो बनाएर युट्युबमा अपडेट गर्थे, अरुलाई फेसबुकमा लेख्न लगाउँथे, यस्तो लाग्थ्यो कि उनीहरु शमसेरको जानीदुश्मन नै हो ।यसपटक त सबैले स्वीकार गरेका छन् कि शमसेर मियाँबाट गलती भएकै हो । तर, दुई दिनसम्म शमसेरको धज्जी उडाउन निदाउन नसकेका ती व्यक्तिहरु एकाएक किन हराए,  हो, यो विषय महत्वपूर्ण छ । हराउनेहरु को थिए. ती व्यक्तिहरु माथि उल्लेखित दोश्रो प्रवृत्तिभित्र अटाउने नेताहरु थिए । उनीहरु दोश्रो दिन नै शमसेरको बिरोध गर्न छोडेर गायब भए । पहिलो प्रवृत्तिभित्र अँटाउनेमा बिरोध गर्नेहरु आम मुस्लिम युवा थिए । उनीहरु क्षमायाचना भएको ३–४ दिनपछि मात्र सेलाए । शमसेर मियाँ स्वयं दोश्रो प्रवृत्तिभित्र पर्ने मझौला नेता हुन् भन्ने मेरो बुझाइ हो । तर, उनीभन्दा सिनियर कहलिएका दोश्रो प्रवृत्तिका नेता उनको खैरो खन्दाखन्दै एकाएक चूप भए । यसले पुष्टि गरेको छ मैले प्रस्तुत गरेको दोश्रो ‘प्रवृत्तिलाई । दोस्रो प्रवृत्तिका नेताहरुको संख्या पनि सानो छ । आपसमा टेफिफोन बैठक भयो । फेसबुकमा लेख्ने ‘दोश्रो प्रवृत्तिका सवैलाई खोजी खोजी सम्झाइयो – ‘‘शमसेरले ठीकै त भनेका छन्, बन्द गर बिरोध ।’ र, नाटकीय ढंगले दोस्रो प्रवृत्तिका व्यक्तिहरुको फेसबुकबाट बिरोधपूर्ण कमेण्टहरु सनैसनै बन्द भए । शमसेर मियाँले माफी न मागे पनि यही हुने थियो ।शमशेर मियाँले उनीहरुको मुख बन्द गराउन खासै कुनै मेहनत नै गर्नु परेन । यसले पनि दोश्रो किसिमको ‘प्रवृत्ति कति गाढा छ भन्ने कुरालाई पुष्टि गर्दछ । म स्वतन्त्र रुपमा यो पहिलो र दोस्रो दुईटै प्रवृत्तिका मुस्लिम नेताहरुको बिपक्षमा उभिन रुचाउँछु । म दुवैलाई जोडेर लैजाने मध्यमार्गी व्यक्ति हुँ । (लेखक पूर्व राज्यमन्त्री र नेकपा नेता हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here