रौतहटको इशनाथ नगरपालिकाको जोकाहामा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा हिजो संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागी जिल्ला भित्रै अर्को स्थानमा रहेको गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन चिकित्सक र सुरक्षाकर्मी पुग्दा सो स्थानमा वादविवादले उग्र रुप लिएको थियो ।
स्थानीयले कोरोना संक्रमितलाई त्यहीँ नै राखेर उपचार गर्नुपर्ने माग राख्दै विरोध गरेको इशनाथ नगरपालिका प्रमुख सन्तोष मेहताले जानकारी दिए ।

संक्रमित रहेको स्थानबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटरको दूरीमा रहेको छ । स्थानीयले जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर संक्रमितको उपचार गर्न माग गर्दै विरोध प्रदर्शन गरेको मेयर मेहताले बताए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । स्थिति अहिले पनि तनावपूर्ण छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयले ढुङ्गा लाठी गरास भल्ला समेत हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो ।

झडपलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी घटनास्थलतर्फ परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here