रौतहट, २१ साउन ।
रौतहट_रौतहटको कुनै पनि कार्यालय वा संगठनको प्रमुख कर्तव्यनिष्ठ र उत्तरदायी भए त्यो संगठन वा कार्यालयले साँच्चिकै नै समाजमा राम्रो र सकारात्क परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिएका छन् रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले ।

राजदेव राम देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको दुई महिना बित्न नपाउँदै अस्त व्यस्त रहेको नगर प्रशासन यतिखेर वास्तविक ट्र्याकमा आउन थालेको छ । गत असार १ गते बाट सो नगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएदेखि नै उनले कार्यालय र मातहतका कर्मचारीहरुलाई समयमा कार्यालयमा उपस्थित भई जनताको कामकाजमा खट्ने/खटाउने, कार्यालय व्यवस्थित गर्नेदेखि लिएर चार वटा वडा कार्यालयमा स्वास्थ्य चौकी स्थापना गराएर सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत रामकै सक्रियताले देवाही गोनाही नगरपालिकाका जेष्ठ नागरिक तथा एकल महिला र बाल पोषण भत्ता इत्यादीको रकम बैंकिङ्ग प्रणालीमार्फत वितरण गर्ने व्यवस्था शुरु भएको छ । यो व्यवस्थाले सार्वसाधारण नागरिकहरुकोलागि राज्यले छुट्याएको सुविधा र सेवामा पार्दर्शिता आउने तथा अनियमितता नहुने हुँदा नगरवासीहरु ढुक्क भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राम देवाही नगरमा आएपछि विधिवत रुपमा बोलपत्र सूचना आव्हान गरी मेयर, उपमेयरको लागि चाहिने गाडी, नगर कार्य प्रयोजनकालागि चाहिने भ्याको लोडर, नगरवासीको सेवाको लागि चाहिने एम्बुलेन्स, सरसफाइ तथा ढुवानीकोलागि ट्रैक्टर जस्ता सामानहरु पारदर्शी तरिकाले खरीद गरी रौतहट जिल्लामै नयाँ सिस्टम र व्यवस्था बसालेका छन् ।
स्थानीय नगरवासीहरुका अनुसार कर्मचारीले चाहेमा जनताको काम मात्र नभइ व्यवस्थित र नमूना नगरपालिकाको रुपमा स्थापित गराउन कुनै समय लाग्दैन ।

विहानीको किरनले दिनको संकेत गर्छ भने झैं प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको दुई महिनामै नगर र नगरवासीको हितका काममा तदारुकता देखाउने रामले आगामी दिनमा पक्कै पनि यो भन्दा पनि उपलब्धिमूलक सफलता हासिल गर्दै जालान भनेर स्थानीयवासीहरु आशावादी छन् ।‍

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here