२१ जेष्ठ ।। रौतहटमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरीरहेको अवश्थामा प्रहरीले स्काभेटर र चालकलाई नियन्त्रणमा लिएको छ ।
रौतहटका विभिन्न स्थानिय तहहरुले खोलाहरुमा नदीजन्य पदार्थ निकासीका लागी अनुमति दिए पनि ठेकेदारहरुले मापदण्ड विपरीत बालुवा तथा ढुङ्गा उत्खन्न काम गर्ने गरेका छन ।

वृन्दावन नगरपालिका ४ को रमौली घाटमा ४ वटा स्काभेटर तथा गढीमाई नगरपालिकाको १ र २ को घाटमा अनुमति विपरीत उत्खनन गरी रहेका चार वटा गरी कुल ८ स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्काभेटर नियन्त्रणमा लिने क्रममा अवरोध उत्पन्न गर्ने ७ जना चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक सिद्धि विक्रम शाहले बताए ।

पूर्व सभासद तथा नेपाली काग्रेंसका जिल्ला सभापति कृष्णा यादवको क्रसरमा भण्डारण गर्न खोला दोहन तथा उत्खननको काम भएको स्थानिय उमेश यादवले बताए । गढीमाई र वृन्दावन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा पूर्व सभासद यादवले सो क्षेत्रमा नदीजन्य पदार्थको ठूलो कारोबार गर्दैै आएका छन ।

खोलामा लगाएको मुरलि कन्सट्रक्सनको एक्साभेटरले १० फिट भन्दा बढीको खाल्डो बनाएर प्रारम्भीक वातावरणीय परिक्षण (आईई) को खिल्ली उडाएको छ । खोलामा अनुगमन गर्ने निकायले ध्यान नदिदा रौतहटको बाग्मती, लालबकैया, चादी लगायतका नदीको दोहन बढेको हो ।

गैर कानूनी रुपमा खोला उत्खनन गरेर हजारौं घनमिटर ढुङ्गा बालुवा भण्डार गर्दा समेत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा स्थानिय तहहरु मुखदर्शक बनेर बसेका छन । रौतहटका खोलाहरुबाट राजनितिक पहुँच र आर्थिक चलखेलका आधारमा ठेकेदारहरुले अवैध उत्खनन र भण्डारण गर्ने गरेका छन ।

नियन्त्रणमा लिएका स्काभेटरहरुलाई जिल्ला समन्वय समितिको जिम्मा लगाउने तथा चालकलाई कानून बमोजिम कारवाही गर्ने प्रहरी उपरिक्षक शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here