रौतहट,३० चैत्र। मो.मोजिबुल्लाह रौतहटमा घुस लिदैं गर्दा प्रधानाध्यापक र उनका सहयोगी पक्राउ परेको छ । श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झालाई बुधबार ३ लाख रुपैयाँ घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको छ । जोकहा–घिउरास्थित रहेको उक्त विद्यालयको प्रअ ठाकुर र सहयोगी झाले शिक्षकको म्याद थप वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट खटिएको टोलीले ठाकुर र झालाई उक्त रकम लिसकेको अवस्थामा रँगेहात पक्राउ गरेको जनाईएको छ ।
रौतहटको गौर चपुर सडक खण्डमा पर्ने सरुअठा चोकस्थितबाट दुवै जनालाई रँगेहात पक्राउ गरिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् । प्रारम्भिक मुचुल्का उठाउने कार्य भइरहेको मुचुल्का उठाएपछि दुवै जनालाई आजै अख्तियारको केन्द्रीय कार्यालय टँगाल लग्ने तयारी गरिएको भण्डारीले जनाएका छन् ।