रौतहट प्रहरीले ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने रौतहटको माधवनरायण नगरपालिका ८ पिपरा रजवाडाका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय राम रहेको रौतहट प्रहरीले जनाएको छ । जग्गा सम्बन्धमा पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आश नारायणको हत्या गरेको प्रहरीले दाबी गरेको छ । २०७८ मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीले जनाएको छ । ‘हत्या गरेको दिन उनीहरुले बालकको शवलाई सोही छाप्रोमा लुकाए । दोश्रो दिन राति घर भन्दा १ मिलोमिटर टाढा रहेको परालको थुप्रोमा लुकाए,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘कसैलाई शंका नहोस भनेर काका जयराम परिवारजनसँगै खोजतलाश गर्न पनि गए । उनीहरुले २९ गते राति लाशलाई बोरामा हालेर बागमती नदीमा फालेको अनुसन्धानले देखायो ।’ उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।