रौतहट ।। घूस खाएको आरोप लागेका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगरप्रमुख धर्मेन्द्र पटेलले विशेष अदालत काठमाडौँबाट सफाइ पाएका छन्। उनीसँगै सहयोगीको रूपमा रहेका अशोक पटेल समेत सफाइ पाएका हुन् ।
शुक्रवार न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र न्यायाधीश रीतेन्द्र थापाको संयुक्त इजलासले पूर्व मेयर पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको हो।
२०७८ फागुन १५ गते तत्कालीन नगरप्रमुख पटेल नगरपालिकामा आफ्नै कार्यकक्षमा पक्राउ परेका थिए।
उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो। देवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेख नुरुल्लासँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई र उनका स्वकीय सचिव अशोक पटेल लगायत चारजना पक्राउ गरेको थियो।
पक्राउलगत्तै उनी अख्तियारद्वारा निलम्बित भएका थिए। पटेल निलम्बित भएकै कारण गत स्थानीय निकायको निर्वाचनमा उनी उमेदवारीबाट वञ्चित पाएका थिए ।

