रौतहट प्रहरीको संरक्षणमा खुलेआम अबैध मदिरा भट्टी संचालनमा :- स्थानीयबासी त्रसित

पछिल्लाे समाचार

रौतहट १५ ।। जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाभर अवैध मदिरा उत्पादन भण्डारण तथा बिक्री वितरण नियन्त्रण गर्न विशेष अभियान र कारबाही तीव्र पारिएको दाबी गरिरहेकै बेला तल्लो स्तरका प्रहरी इकाईहरूको नियतमाथि गम्भीर प्रश्न उठेको छ । जिल्ला प्रहरीको निर्देशन र नीति विपरीत आफ्नै मातहतमा रहेको इलाका प्रहरी कार्यालय कोपवा तथा इलाका प्रहरी कार्यालय राजपुरको प्रत्यक्ष संरक्षणमा विभिन्न बस्तीहरूमा दर्जनौं अवैध मदिरा भट्टीहरू निर्वाध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

रौतहटको इनरबारी, अजगैबी, भेडियाही, राजपुर फरहदवा तथा नमनगराका आँप बगैंचाहरूमा घरेलु मदिरा उत्पादन गर्ने अवैध भट्टीहरू खुलेआम सञ्चालन भइरहेका छन् । घना आँपका बगैंचा र झाडीहरूको आडमा सञ्चालित यी भट्टीहरूबाट 5 निस्कने गन्ध र अवाञ्छित गतिविधिले गर्दा स्थानीय बासिन्दाहरू आजित बनेका छन् । प्रहरीको मिलेमतो र आर्थिक प्रलोभनकै कारण मदिरा चुहाउने कार्य निर्वाध रूपमा भइरहेको आरोप स्थानीयले – लगाएका छन् । नाम नछाप्ने सर्तमा एक स्थानीय बासिन्दाले भने, प्रहरीले मोटो रकम असुल गरेर अवैध मदिरा – उत्पादन र बिक्रीको अघोषित अनुमति नै दिएजस्तो अवस्था छ ।
बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुलेआम मदिरा तयार पार्ने र बिक्री गर्ने काम भइरहँदा पनि नजिकैको प्रहरी टोली
मूकदर्शक बनेर बस्नुले कोपवा प्रहरीकै संरक्षण रहेको प्रस्ट हुन्छ ।

स्रोतका अनुसार इलाका प्रहरी कार्यालय कोपवाका जिम्मेवार अधिकारीहरूलाई प्रत्येक अवैध भट्टी सञ्चालकले महिनाको १५ हजार पैयाँका दरले निश्चित नजराना (मासिक असुली) बुझाउने गरेका छन् । मासिक नजराना बुझाएकै आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मार्न छाडेको वा छापा मार्नु अघि नै सूचना पुऱ्याउने गरेको दाबी स्रोतको छ। यी अवैध भट्टीहरूबाट दैनिक ५ सय लिटरभन्दा बढी घरेलु मदिरा उत्पादन हुने गरेको अनुमान छ । उत्पादन गरिएको मदिरालाई प्लास्टिकको पोकामा (पाउच) प्याक गरी मोटरसाइकल, साइकल तथा पैदलयात्रीमार्फत नेपालका स्थानीय बजारहरूसँगै भारतीय सीमावर्ती क्षेत्रहरूसम्म पुऱ्याउने गरिएको छ ।
मदिरा उत्पादन भइरहेका मुख्य स्थलहरू इलाका प्रहरी कार्यालय कोपवाको पहुँचभन्दा निकै नजिक भए पनि प्रहरीले नियन्त्रणका लागि कुनै ठोस कदम चालेको छैन ।
नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै यो अवैध कारोबार झनै मौलाएको छ। छिमेकी भारतीय राज्य बिहारमा राज्य सरकारले पूर्ण रूपमा मदिरा विक्री तथा उत्पादनमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली भूभाग अवैध मदिराको मुख्य केन्द्र बन्दै गएको छ । बिहारका पारखीहरू र मदिरा तस्करहरूका लागि सीमावर्ती नेपाली गाउँहरू सुरक्षित गन्तव्य बनेका छन् । विशेष गरी इलाका प्रहरी कार्यालय कोपवा मातहत रहेको नरकटिया प्रहरी चौकीसँग जोडिएका सीमानाकाहरूबाट दैनिक रूपमा ठूलो परिमाणमा मदिरा भारततर्फ तस्करी हुने गरेको छ। सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरूको फितलो अनुगमन र क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सामाजिक अपराध न्यूनीकरण गर्न र आर्थिक सञ्जालका कारण यो धन्दाले व्यापकता पाएको स्थानीयको भनाइ छ। स्थानीय निकाय नागरिक समाज तथा सचेत धरातलका बासिन्दाहरूले यस्ता गैरकानुनी गतिविधि तत्काल बन्द गराउन जिल्ला प्रहरी कार्यालय रौतहट र उच्च सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् । सीमा गैरकानुनी मदिरा धन्दामा संलग्न सञ्चालक तथा उनीहरूलाई संरक्षण दिने दोषी प्रहरी कर्मचारीहरूलाई समेत कडा अनुसन्धान गरी कानुनको दायरामा ल्याउन अति आवश्यक देखिएको छ ।

spot_img

लोकप्रिय