केही दिन अगाडि मात्र सरुवा हुनुभएका डीआईजी ओमप्रसाद अधिकारीले आज मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयको निर्णयअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट मधेश प्रदेशमा सरुवा भई उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
जिम्मेवारी सम्हालेलगत्तै डीआईजी ओम अधिकारीले मातहतका सबै जिल्ला प्रहरी प्रमुखहरू तथा प्रहरी कर्मचारीहरूलाई आम नागरिकले महसुस गर्ने गरी निष्पक्ष, पारदर्शी र जनउत्तरदायी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
प्रदेशभित्र हुने आपराधिक क्रियाकलाप, गुण्डागर्दी र भन्सार छली जस्ता अवैध गतिविधि विरुद्ध शून्य सहनशीलता (Zero Tolerance) अपनाउन निर्देशन दिनुभएको छ ।
साथै प्रहरी संगठनको साख उच्च राख्न सम्पूर्ण कर्मचारीहरूलाई पूर्ण अनुशासन, आर्थिक पारदर्शिता र व्यावसायिक आचरण पालना गर्न सचेत गराउनुभएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति अपनाउन निर्देश दिनुभएको छ

