गौर भन्सारबाट स्रोत नखुलेको रकम सहित हुण्डी कारोबारी पक्राउ

पछिल्लाे समाचार

रौतहट, २२ असोज। रौतहट प्रहरीले स्रोत नखुलेको नगद रकम तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार राति करिब १०ः३० बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट BR 30 AR 2495 नम्बरको TVS राइडर मोटरसाइकलमा सवार गौर नपा–१ ट्रान्सफरमर चौक निवासी ४२ वर्षीय शेराज अलीलाई शंकाका आधारमा जाँच गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको बोर्डर एक्सन टिम (BAT) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले मोटरसाइकल तथा सवार व्यक्तिको जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद रकम फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जनाएको छ।

प्रहरीका अनुसार अलीको साथबाट नेपाली रुपैयाँ १ लाख १६ हजार ५ सय तथा भारतीय रुपैयाँ १ लाख बरामद भएको छ। बरामद नेपाली रकममध्ये रु. ५०० दरका २३३ थान नोट रहेको छ भने भारतीयतर्फ भारु ५०० दरका २०० थान नोट फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट BR 30 AR 2495 नम्बरको TVS राइडर मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार बरामद नगद रकम र सवारी साधनका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले रकमको स्रोत खुल्न नसकेकाले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

spot_img

लोकप्रिय